दूधकोशी–२ आयोजनाको क्षमता बढेर पुग्यो ९६ मेगावाट, लागत पनि थपियो

By Dudhkoshi
February 27, 2026

दूधकोशी–२ आयोजनाको क्षमता बढेर पुग्यो ९६ मेगावाट, लागत पनि थपियो

By Dudhkoshi
February 27, 2026

काठमाडौँ। निजी लगानीमा निर्माण सुरु भएको दूधकोशी–२ अर्धजलासय जलविद्युत आयोजनाको क्षमता बढेर ९५.७ मेगावाट पुगेको छ। यसअघि ७० मेगावाटमा आयोजना डिजाइन गरिएको थियो। दुधकोसी नदीमा पानीको वहाव पहिला अध्ययन गरेको भन्दा बढी देखिएपछि आयोजनाको क्षमता बढेको हो। यसअघि दूधकोसीमा पानीको वहाव प्रतिसेकेन्ड ६२ घनमिटरका आधारमा आयोजनाको डिजाइन ७० मेगावाट गरिएको थियो। पछिल्लो अध्ययनले पानीको बहाव प्रतिसेकेन्ड साढे ८३ घनमिटर आएपछि आयोजनाको जडित क्षमता बढेको आयोजना विकासकर्ता दूधकोशी हाइड्रोपावर नेपाल प्रालिका अध्यक्ष कदम केसीले बताए। जडित क्षमता बढाउनका लागि कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएको उनले जनाएका दिए।
विभागको स्वीकृतिपछि नेपाल विद्युत प्राधिकरणसँग थप २५.७ मेगावाट विद्युत खरिद सम्झौता (पीपीए) हुने उनले सुनाए। यस्तै जडित क्षमता वृद्धिसँगै आयोजनाको लाग पनि बढेर २० अर्ब रुपैयाँ पुग्ने अध्यक्ष केसीले बताए। यसअघि आयोजनाको लागत १५ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। आयोजनामा संस्थापकले स्वपुँजी (इक्विटी) र बैंकले पनि ऋण थप्नु पर्ने भएको छ।


आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा एभरेष्ट बैंक र सानिमा बैंकले आयोजनामा साढे १० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छन्। आयोजनामा बैंकहरुले थप लगानी गर्ने भएका छन्। आयोजना बनाउन नसकेपछि भारतीय कम्पनी आफ्नो स्वामित्व नेपालीलाई बिक्री गरेर आयोजनाबाट बाहिरिएको छ। आयोजनाको कुल अनुमानित लागतको ७० इक्विटी हुने गरी लगानी संरचना बनाइएको छ। जसअनुसार १० अर्ब ५० करोड रुपैयाँ बैंकको ऋण र बाँकी साढे चार अर्ब रुपैयाँ संस्थापकहरूको स्वपुँजी लगानी हुने गरी ऋण सम्झौता भएको छ। काम सुरु गरेको चार वर्षमा सम्पन्न हुने कम्पनीका अध्यक्ष केसीले जानकारी दिए। विद्युत प्राधिकरणसँग २०२१ नोभेम्बरमा आयोजनाबाट उत्पादन हुने बिजुली पीपीए भएको थियो। वर्षायाममा (जुनदेखि नोभेम्बर) सम्म प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खा मौसममा (डिसेम्बरदेखि मे महिना) सम्म ८.४० रुपैयाँ रहेको छ।


आयोजनाबाट वार्षिक ४१ करोड ७४ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। क्षमता बढेकाले ऊर्जा उत्पादन पनि थपिने भएको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ४३ लाख रुपैयाँ छ। आयोजनाको प्रतिफल १३.९७ प्रतिशत रहेको छ। इक्विटीमा प्रतिफल २१ प्रतिशत रहेको छ। आयोजनाले १२ वर्षमा ऋण चुक्ता गर्ने भएको छ। कम्पनीले बिजुली बेचेर औसत ५.९६ रुपैयाँ पाउने भएको छ। परियोजनाबाट उत्पादित बिजुली १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत पहिले नै सञ्चालनमा रहेको विद्युत प्राधिकरणको टिङ्ला सबस्टेशनमा जोड्ने प्रस्ताव गरिएको छ। ३५ मेगावाट क्षमताका दुई टवाईन जडान हुने भएको कम्पनीले जनाएको छ। दूधकोशी–२ लाई जुट्यो लगानी, लक्ष्मी सनराइज बैंकको अगुवाईमा साढे १० अर्ब ऋण दूधकोशी हाइड्रोपावर सन् २०१३ अक्टुबरमा स्थापना भएको हो। आयोजनाको डिजाइन डिस्चार्ज ६२.३० प्रतिसकेन्ड रहेको छ। क्यू ४० मा आयोजना डिजाइन गरिएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत उत्पादनको लागि विद्युत विकास विभागबाट २०७७ असोजमा इजाजतपत्र (लाइसेन्स) पाएको थियो।


यसअघि आयोजना सोलुखुम्बुमा थुलुङ दूधकोशीमा बाँध बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युतगृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो। यसअघि दूधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत पुर्याउने योजना थियो। अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्याखर्कमा निर्माण हुने विद्युतगृहमा पुर्याइने भएको छ। जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ। अब फेरी बढेर ९६ मेगावाट पुग्नेछ। आयोजनाको नेतृत्व कदम केसीले गरेका छन्। यस्तै सञ्चालकहरुमा अभिज्ञा मल्ल, विक्रम गौतम, अरुण अग्रवाल, किरण मल्ल र हिमाल भट्टराई रहेका छन्। प्रमुख संस्थागत लगानीकर्ताहरूमा आयु मालुन हाइड्रोपावर लिमिटेड, टिम भेन्चर, सारथी इक्विटी फन्ड रहेका छन्।

Other Blogs

Laxmi Sunrise Bank-led consortium to invest in 70 MW Dudhkoshi 22

Laxmi Sunrise Bank-led consortium to invest in 70 MW Dudhkoshi 22

By DudhkoshiFebruary 27, 2026
The project is being constructed at the Dudhkoshi River of the Solukhumbu district with an estimated project cost of Rs 15 billion. “This venture will...
Read more